शुक्र, २० कात्तिक २०८३ / November 6, 2026, Friday
शुक्र, २० कात्तिक २०८३
Advertisement
banner add

डलर साट्ने प्रलोभन देखाएर १६ लाख रुपैयाँ लुटपाट गर्ने व्यक्ति प्रहरीको गोली लागेर पक्राउ

banner add
writter
शुक्र, २० कात्तिक २०८३
(Shares)

काठमाडौं । अमेरिकी डलर सस्तोमा साटिदिने प्रलोभन देखाएर सर्वसाधारणबाट १६ लाख रुपैयाँ ठगी तथा लुटपाट गरेको आरोपमा एक व्यक्ति प्रहरीको गोली लागेर पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बस्दै आएका २८ वर्षीय सजुन तामाङ रहेका छन्।

प्रहरीका अनुसार तामाङले गत असोज २२ गते विभिन्न व्यक्तिलाई फोन गरी आफूसँग अमेरिकी डलर रहेको र सस्तो मूल्यमा साटिदिने भन्दै प्रलोभन देखाएका थिए। विश्वास दिलाउन उनले अमेरिकी डलर ५० को नोटसमेत देखाएर साट्नका लागि तयार पारेका थिए।

त्यसपछि असोज २३ गते गोकर्णेश्वर नगरपालिका–१२ स्थित लसुनटारमा बोलाएर दुई जनाबाट जनही ८ लाख रुपैयाँका दरले कुल १६ लाख रुपैयाँ ठगी तथा लुटपाट गरी जंगलतर्फ फरार भएको प्रहरीको भनाइ छ।

उक्त घटनामा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा कात्तिक १९ गते साँझ करिब ६ः४५ बजे गोकर्णेश्वर नगरपालिका–३ गाम्चास्थित सडकखण्डमा तामाङलाई फेला पारेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि नै चक्कु प्रहार गरेका थिए।

चक्कु प्रहारबाट एक प्रहरी घाइते भएपछि प्रहरीले चेतावनीस्वरूप एक राउन्ड हवाई फायर गरेको थियो। त्यसपछि पनि नियन्त्रणमा नआएपछि तत्कालीन परिस्थितिको मूल्याङ्कन गर्दै घुँडामुनि लक्षित गरी एक राउन्ड गोली चलाएर उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घाइते तामाङको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार तामाङको आपराधिक पृष्ठभूमि लामो रहेको छ। उनी यसअघि पनि डलर देखाएर ठगी तथा लुटपाट गरेको आरोपमा आठ पटकसम्म पक्राउ परी कानुनी कारबाहीमा परिसकेको प्रारम्भिक विवरणमा उल्लेख छ।

उनका विरुद्ध प्रहरी वृत्त स्वयम्भू, महाराजगञ्ज, बौद्ध, सातदोबाटो, प्रहरी परिसर भक्तपुर तथा सिन्धुपाल्चोकको बाह्रबिसे इलाका प्रहरी कार्यालयलगायतका स्थानमा ठगीसम्बन्धी मुद्दा दर्ता भएको प्रहरीको विवरणमा देखिन्छ।

पछिल्लो समय स्वयम्भू, बूढानीलकण्ठ र साँखु क्षेत्रमा सुन देखाएर रकम लुटपाट गरेको घटनामा समेत उनको संलग्नता रहेको आशंका गरिएको छ। विगतका लुटपाटका घटनामा संलग्न व्यक्तिको हुलियासमेत तामाङसँग मिलेको भन्दै प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

-         यसरी गर्थे ठगी तथा लुटपाट

प्रहरीका अनुसार तामाङ नेतृत्वको समूहले विभिन्न गेस्ट हाउस, रेस्टुरेन्ट, सुनचाँदी पसल, हार्डवेयर, मेडिकल, डेरी तथा होलसेल पसलको निगरानी गरी त्यहाँ राखिएका होर्डिङ बोर्डमा उल्लेखित सम्पर्क नम्बर संकलन गर्ने गरेको थियो।

त्यसपछि ती नम्बरमा फोन गरी पसल सञ्चालकसँग चिनजान भएजस्तो व्यवहार गर्ने, आफ्नो दुःख सुनाउने र आफूसँग रहेको अमेरिकी डलर सस्तो मूल्यमा सटही गरिदिने भन्दै विश्वासमा पार्ने गरेको अनुसन्धानबाट खुलेको छ।

समूहका एक सदस्यले सुरुमा सोझो तथा विश्वासिलो व्यक्तिको भूमिका निर्वाह गर्ने र विश्वास जितेपछि सक्कली डलर देखाएर पीडितलाई लोभ्याउने गरेको प्रहरीको भनाइ छ। त्यसपछि एकान्त तथा जंगल क्षेत्रका स्थानमा बोलाएर डलर सटही गर्ने बहानामा रकम लुटेर फरार हुने गरेको पाइएको छ।

डलरको पोकोमा अगाडि र पछाडि पाँच, १० तथा ५० अमेरिकी डलरका नोट राखेर बीचमा नेपाली रुपैयाँ आकारका सेता कागज वा २० रुपैयाँका नोट राख्ने र त्यसलाई डलरको बन्डलजस्तो देखाएर ठगी गर्ने गरेको प्रहरीले जनाएको छ।

प्रहरीको निगरानीबाट बच्न समूहले पटकपटक स्थान परिवर्तन गर्ने, मोटरसाइकलको नम्बर प्लेट र आफ्नो हुलिया बदल्ने तथा एकपटक प्रयोग गरेको मोबाइल र सिमकार्ड पुनः प्रयोग नगर्ने गरेको अनुसन्धानमा खुलेको छ। चोरीका सिमकार्ड तथा मोबाइलसमेत प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ।

-         विभिन्न सामग्री बरामद

प्रहरीले घटनामा प्रयोग भएका तथा बरामद गरेका सामग्रीमा ठगीमा प्रयोग गरिएका मोटरसाइकल र नक्कली नम्बर प्लेट, नेपाली २० रुपैयाँका चार बन्डल, डलरजस्तै आकारमा काटेर राखिएका सेता कागजका बन्डल, ती बन्डलको अगाडि र पछाडि राखिएका अमेरिकी डलरका नोट, एक किलो नक्कली सुनको ढिक्का तथा विभिन्न कम्पनीका मोबाइल फोन रहेका छन्।

समूहले विशेषगरी सीसीटीभी क्यामेराको पहुँच कम भएका नाङ्लेभारे, लप्सीफेदी, सुन्दरीजल, तारेभीर, शिवपुरी र नागार्जुनलगायतका क्षेत्रमा यस्ता गतिविधि गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

तामाङसँगै घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा विगतमा भएका डलर र सुन देखाएर ठगी तथा लुटपाटका घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर