काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी)
डा. मनोजकुमार केसीले एसएसपी प्रविण पोखरेललाई आफ्नो सचिवालयमा जिम्मेवारी दिएका
छन्।
राष्ट्रिय सुरक्षा परिषद्, सिंहदरबारमा
कार्यरत पोखरेललाई आईजीपी केसीले सचिवालयमा ल्याएका हुन्।
प्रहरी नेतृत्व परिवर्तन भएसँगै अघिल्लो आईजीपीको सचिवालयमा
कार्यरत अधिकृतलाई फेरबदल गर्ने प्रचलन रहे पनि केसीले भने त्यसलाई निरन्तरता
नदिने नीति लिएका छन्। पूर्वआईजीपी दानबहादुर कार्कीको सचिवालयमा कार्यरत रहेकै
आधारमा कुनै पनि कर्मचारीमाथि भेदभाव नगर्ने नीति नयाँ आईजीपीले लिएको उनको
सचिवालयमा कार्यरत एक अधिकृतले बताए।
हाल आईजीपीको सचिवालयमा प्रवक्ताको जिम्मेवारीमा डीआईजी
अविनारायण काफ्ले, सहप्रवक्तामा एसएसपी दीपशमशेर जबरा तथा
एसपी धर्मराज भण्डारी र डीएसपी शेखरजङ्ग मल्ललगायतका अधिकृत कार्यरत छन्।
स्रोतका अनुसार सचिवालयमा कार्यरत केही अधिकृत नियमित
सरुवाअन्तर्गत तिहारलगत्तै अन्य जिम्मेवारीमा जानेबाहेक आईजीपी परिवर्तन भएकै कारण
तत्काल ठूलो फेरबदल गर्ने तयारी छैन।
सचिवालयमा जिम्मेवारी पाएका एसएसपी पोखरेलले यसअघि अख्तियार
दुरुपयोग अनुसन्धान आयोगमा काम गर्नुका साथै सर्लाही र रुपन्देहीलगायतका जिल्लामा
प्रहरी कमाण्ड सम्हालिसकेका छन्।
आईजीपी केसीको यो निर्णयलाई प्रहरी संगठनभित्र नेतृत्व
परिवर्तनका नाममा हुने अनावश्यक कर्मचारी फेरबदल र पूर्वाग्रहलाई निरुत्साहित
गर्ने प्रयासका रूपमा हेरिएको छ।