काठमाडौँ । ओखलढुङ्गाको लिखु गाउँपालिका–९ मा सामाजिक
सुरक्षा भत्ता वितरणमा ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियार
दुरुपयोग अनुसन्धान आयोगले पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार
मुद्दा दायर गरेको छ।
आरोपितमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी, अभयकुमार
गुप्ता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ चौधरी, एमआईएस
अपरेटर खिला विक र तत्कालीन वडा अध्यक्ष शुकविर तामाङ छन्।
आयोगका अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा सामाजिक
सुरक्षा भत्ता वितरण गर्दा वडा अध्यक्षको औँठाछाप ३६० पटक प्रयोग गरी २९ लाख १५
हजार २०० रुपैयाँ भुक्तानी लिइएको थियो। त्यस्तै, दोहोरो नाम
समावेश गर्ने, मृत्यु भएका तथा बसाइँसराइ गरेका लाभग्राहीको नाममा समेत
रकम वितरण गरेको देखाएर थप दुई लाख ५२ हजार रुपैयाँ हिनामिना गरिएको अनुसन्धानबाट
खुलेको छ।
आयोगले दर्जीविरुद्ध ९ लाख ५३ हजार ६००, गुप्ताविरुद्ध
११ लाख ६७ हजार २०० र चौधरीविरुद्ध ७ लाख ९४ हजार ४०० रुपैयाँ बिगो कायम गरेको छ।
वडा अध्यक्ष तामाङ र एमआईएस अपरेटर विकविरुद्ध जनही ३१ लाख ६७ हजार २०० रुपैयाँ
बिगो कायम गरी मुद्दा दायर गरिएको छ।
पाँचै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार बिगो असुल, जरिवाना
र कैद सजायको मागदाबी गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।