काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल ऐन, २०४८
संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह
गरेको छ।
महासंघ अध्यक्ष निर्मला शर्माको नेतृत्वमा शुक्रबार
राष्ट्रपति भवन पुगेको टोलीले अध्यादेशका प्रावधानले प्रेस तथा अभिव्यक्ति
स्वतन्त्रता प्रभावित पार्ने भन्दै ध्यानाकर्षण गराएको हो।
सरोकारवालासँग पर्याप्त छलफल नगरी संसद्लाई छलेर
अध्यादेशमार्फत कानुन ल्याउनु लोकतान्त्रिक प्रक्रिया विपरीत भएको महासंघको भनाइ
छ। समाचार कक्षमा प्रवेश गरी पत्रकारमाथि भएको प्रहरी धरपकडको स्वतन्त्र छानबिन र
दोषीमाथि कारबाही नगरी सरकारले अध्यादेश ल्याउनु थप चिन्ताजनक रहेको महासंघले
जनाएको छ।
महासंघले प्रेस स्वतन्त्रतासँग प्रत्यक्ष सरोकार राख्ने
कानुन नियमित विधायिकी प्रक्रियाबाट निर्माण गर्न र संविधानको मर्मअनुसार
राष्ट्रपतिलाई विवेक प्रयोग गर्न आग्रह गरेको छ।