काठमाडौं । डिजिटल रूपान्तरण, आर्थिक विकास तथा
पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने विषयमा नेपाल सरकार र टिकटकका प्रतिनिधिबीच
छलफल भएको छ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र टिकटकका
सरकारी सम्बन्ध तथा सार्वजनिक नीति मामिलासम्बन्धी वरिष्ठ निर्देशक एमिर गेलेनबीच
भएको भेटवार्तामा डिजिटल साक्षरता, सुरक्षित
इन्टरनेट प्रयोग, पर्यटन, उद्यमशीलता र
रोजगारी सिर्जनाका विषयमा छलफल भएको हो।
भेटमा मन्त्री तिमिल्सिनाले टिकटकजस्ता डिजिटल प्लेटफर्मलाई
नेपाली कला, संस्कृति, पर्यटन तथा उद्यमशीलताको
प्रवर्द्धनमा उपयोग गर्नुपर्नेमा जोड दिए। उनले ग्रामीण क्षेत्र, साना
उद्यमी तथा विपन्न समुदायसम्म डिजिटल अवसर विस्तार गर्नुपर्ने र प्रयोगकर्ताको
गोपनीयता तथा सुरक्षित इन्टरनेटलाई प्राथमिकता दिनुपर्ने बताए।
त्यस्तै, विपद्सम्बन्धी सूचना र जनचेतनामूलक
सन्देश प्रवाहमा सामाजिक सञ्जालको प्रभावकारी उपयोगबारे पनि छलफल भएको थियो।
टिकटकका वरिष्ठ निर्देशक गेलेनले डिजिटल साक्षरता, नेपाली
व्यापार, पर्यटन तथा कला–संस्कृतिको प्रवर्द्धन र सुरक्षित इन्टरनेट
प्रयोगसम्बन्धी अभियानमा नेपाल सरकारसँग सहकार्य गर्न इच्छुक रहेको बताए।