स्थानीय सरोकार/काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आले र स्वामिनारायण निर्माण सेवा प्रालि धरानका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतविरुद्ध करिब एक करोड रुपैयाँ बराबरको मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार कर निर्धारण र भुक्तानी प्रक्रियामा हेरफेर गरी राजस्व रकम हिनामिना गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
आयोगले राजस्व चुहावटमा संलग्न भई गैरकानुनी लाभ उठाएको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उक्त कार्यबाट नेपाल सरकारलाई एक करोड २३ लाख ६९ हजार ६४९।६९ बराबरको हानी भएको देखिएको र सोही रकम बराबर जरिवाना र कैद सजायको मागसहित मुद्दा दायर गरिएको हो ।
आयोगका अनुसार, जिल्ला मोरङको सुन्दरहरैँचा नगरपालिकाले आर्थिक वर्ष २०७६र७७ मा गछिया खोलाबाट बालुवा–गिट्टी उत्खननका लागि स्वामिनारायण निर्माण सेवा प्रालिसँग ९ करोड ५१ लाख ५१ हजार १५१।५० (भ्याट बाहेक) रकममा ठेक्का सम्झौता गरेको थियो ।
सो ठेक्का वापत बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रु. १ करोड २३ लाख ६९ हजार ६४ सय नौ रुपैया नौ पैसा आन्तरिक राजस्व कार्यालयमा दाखिला नगरी राजस्व छली गरिएको उजुरीका आधारमा अनख्तियारले अनुसन्धान अघि बढाएको हो ।
अनुसन्धानका क्रममा कर अधिकृत आले र निर्माण कम्पनीका प्रबन्ध निर्देशक बस्नेतबिच मिलेमतो गरी झुटा लिखत बनाई राजस्व छली गरिएको र नेपाल सरकारलाई हानी पुर्याइएको प्रमाण भेटिएको आयोगले जनाएको छ ।
अख्तियारले दुवै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ का दफा ९, १७ र २२ बमोजिम सजायको मागसहित विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।
आयोगले सार्वजनिक पदको दुरुपयोग गरी राज्यको राजस्व नोक्सान पुर्याएको आरोपमा दुवैजनालाई विशेष अदालतमा मुद्दा दायर गरेको हो। सो प्रकरणमा अन्य संलग्न व्यक्तिहरूको पनि अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
राजस्व पारदर्शिता र कर प्रणालीमा जनविश्वास कायम गर्न यस किसिमका प्रकरणमा कानुनी कारबाही कडाइका साथ अघि बढाइनुपर्ने सरोकारवालाहरूको भनाइ छ।