सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले एक करोड ६३ लाख रुपैयाँभन्दा बढी अनियमितता भएको भन्दै सार्वजनिक भएको समाचारप्रति आपत्ति जनाएको छ। गाउँपालिकाले समाचारमा प्रस्तुत विवरण तथ्यसँग मेल नखाने भन्दै त्यसलाई भ्रामक र कपोलकल्पित भएको दाबी गरेको छ।
गाउँपालिका अध्यक्ष झम्क नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा गत कात्तिक १३ गते प्रकाशित ‘स्थानीय तहमा मौलाएको अनियमितता : इन्द्रावती गाउँपालिकामा १ करोड ६३ लाख ५८ हजार २६६ रुपैयाँको अनियमितता’ शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
विज्ञप्तिअनुसार महालेखा परीक्षकको कार्यालयबाट सार्वजनिक आर्थिक वर्ष २०८१/०८२ को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा समाचारमा उल्लेख गरिएको रकमसँग मेल खाने कुनै विवरण नरहेको गाउँपालिकाको भनाइ छ।
गाउँपालिकाले पछिल्ला वर्षहरूमा बेरुजु घटाउँदै लगेको दाबी गर्दै सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये सबैभन्दा कम अर्थात् ०.४६ प्रतिशत मात्रै बेरुजु कायम रहेको जनाएको छ।
त्यसैगरी, वित्तीय तथा संस्थागत क्षमता मूल्याङ्कन (LISA) मा देशभरका ७५० गाउँपालिकामध्ये दोस्रो, संस्थागत क्षमता स्वमूल्याङ्कन (FRA) मा दोस्रो तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्याङ्कनमा सिन्धुपाल्चोक जिल्लामै पहिलो स्थान हासिल गरेको विज्ञप्तिमा उल्लेख छ। शैक्षिक गुणस्तर परीक्षण केन्द्रको मूल्याङ्कनमा गाउँपालिकाका माध्यमिक विद्यालय जिल्लामै दोस्रो स्थानमा रहेको पनि गाउँपालिकाको दाबी छ।
गाउँपालिकाले सञ्चारमाध्यमलाई तथ्य र प्रमाणका आधारमा समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ। पूर्वाग्रह वा व्यक्तिगत स्वार्थबाट प्रेरित भएर भ्रमपूर्ण समाचार प्रकाशन नगर्न आग्रह गर्दै खोजमूलक, निष्पक्ष र व्यावसायिक पत्रकारिताको अभ्यास गर्न विज्ञप्तिमार्फत अनुरोध गरिएको छ।
विकास निर्माण र सार्वजनिक सेवा प्रवाहका क्रममा देखिएका कमीकमजोरीलाई स्वीकार गर्दै सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको गाउँपालिकाले सुशासन र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ।