बिहि, १९ कात्तिक २०८३ / November 5, 2026, Thursday
बिहि, १९ कात्तिक २०८३
Advertisement
banner add

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

banner add
writter
मङ्गल, १० कात्तिक २०८३
(Shares)

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड २०२६’ बाट सम्मानित भएको छ। यससँगै बैंकले लगातार तेस्रो वर्ष उक्त प्रतिष्ठित अवार्ड प्राप्त गरेको हो।

बैंकले यसअघि सन् २०२४ र २०२५ मा पनि ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ प्राप्त गरेको थियो। थाइल्याण्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दीपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए।

ग्लोबल फाइनान्सले वित्तीय स्रोत परिचालन क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, रणनीतिक व्यावसायिक साझेदारी, ग्राहकमैत्री नवप्रवर्तन, अत्याधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) को प्रभावकारी प्रयोग, दिगो कर्जा प्रवाह र सबल जोखिम व्यवस्थापनलाई मूल्याङ्कनका प्रमुख आधार बनाउँदै बैंकलाई पुरस्कृत गरेको जनाएको छ।

समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वभरका प्रमुख वित्तीय संस्थाहरूलाई विभिन्न विधामा सम्मानित गरिएको थियो। सम्मानित हुने संस्थाहरूमा हङकङको बैंक अफ चाइना, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको आईसीबीसी, मलेसियाको यूओबी मलेसिया, बङ्गलादेशको सिटी बैंक र जापानको एमयूएफजी बैंकलगायत अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बैंकहरू रहेका थिए।

लगातार तीन वर्ष प्राप्त यो सम्मानले अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा ग्लोबल आइएमई बैंकको पहिचान र विश्वसनीयतालाई थप बलियो बनाएको बैंकको विश्वास छ। बैंकले आगामी दिनमा अझ गुणस्तरीय, आधुनिक र ग्राहकमैत्री सेवा प्रदान गर्न यस सम्मानले प्रेरणा दिएको जनाएको छ।

अवार्ड प्राप्त गर्न सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, अन्य नियामक निकाय, शेयरधनी, कर्मचारी तथा सम्पूर्ण ग्राहकप्रति बैंकले आभार व्यक्त गरेको छ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्ड प्राप्त गर्ने पहिलो नेपाली बैंकसमेत हो। ग्लोबल फाइनान्सले विश्वभरका उत्कृष्ट केन्द्रीय बैंक तथा वाणिज्य बैंकहरूको कार्यसम्पादन र उपलब्धिका आधारमा विभिन्न विधामा यस्तो सम्मान प्रदान गर्दै आएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर