शनि, २० भदौ २०८३ / September 5, 2026, Saturday
शनि, २० भदौ २०८३
Advertisement
banner add

विद्यालयमा हिंसा: शिक्षाको मर्यादामा दाग

banner add
writter
बिहि, २० कात्तिक २०८२
(Shares)

स्थानीय सरोकार/सिन्धुपाल्चोक । शिक्षा मन्दिर हो । ज्ञान, अनुशासन र नैतिकताको प्रतीक। तर जब यही मन्दिरभित्र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले प्रधानाध्यापकलाई बैठकमै कुटपिट गर्छन्, त्यो केवल व्यक्तिगत व्यवहारको सीमा नाघ्ने घटना होइन, शिक्षण संस्थाको नैतिक धरातलमै धक्का हो।

बुधबार इन्द्रावती गाउँपालिकास्थित एक विद्यालयमा घटेको घटना  जहाँ विद्यालय व्यवस्थापन समितिका अध्यक्षले प्रधानाध्यापक भण्डारीमाथि बैठकमै हमला गरे । केवल एउटा दुर्भाग्यपूर्ण झडप होइन, यो हाम्रो शैक्षिक प्रणालीको चरित्रमा देखिएको गम्भीर गिरावट हो।

बैठकमा विद्यालय व्यवस्थापन समिति पुनर्गठन (VMC restructuring) विषयमा छलफल भइरहेकै बेला अध्यक्षले प्रधानाध्यापकलाई एक्कासी कुटपिट गरेको सहभागीहरूले बताएका छन्। यस क्रममा प्रधानाध्यापक भण्डारीको आँखामा चोट लागेको छ, र विद्यालयमा तनावपूर्ण वातावरण सिर्जना भएको छ।

अझ चिन्ताको कुरा के छ भने, घटना कुनै भीडभाड वा सडकमा नभई विद्यालयकै आधिकारिक बैठकमा भएको हो। यसले विद्यालय व्यवस्थापनभित्रको संवाद, संयम र जिम्मेवारीको अभावलाई स्पष्ट गर्छ।

नेपाल शिक्षक महासंघले यस घटनाप्रति कडा आपत्ति जनाउँदै दोषी अध्यक्षमाथि कानुनी कारबाहीको माग गरेको छ ।  यदि त्यसो नभए आन्दोलन गर्ने चेतावनी दिएको छ। 

यो माग उचित मात्र होइन, आवश्यक पनि हो। यदि विद्यालयभित्रका शिक्षक र शैक्षिक प्रशासनका सदस्यहरू नै असुरक्षित छन् भने, विद्यार्थीहरूलाई के सन्देश जाँदैछ?

विद्यालय कुनै शक्ति प्रदर्शनको थलो होइन; यो संवेदनशील र अनुशासित वातावरणमा चल्ने संस्था हो। शिक्षक र व्यवस्थापकबीचको मतभेद संवाद र प्रक्रियाबाट समाधान हुनुपर्छ, न कि मुड्की र रिसले।

सरकार र स्थानीय निकायले तुरुन्त यस घटनाको छानबिन गरी दोषीमाथि उदाहरणीय कारबाही गर्नुपर्छ। यसैगरी, देशभरका विद्यालयहरूले पनि यस घटनाबाट सिक्दै व्यवस्थापन समितिको आचारसंहिता र प्रशिक्षण प्रणाली पुनरावलोकन गर्नुपर्छ।

हामीले बिर्सनुहुँदैन । जब विद्यालय हिंसाको प्रतीक बन्छ, त्यहाँ शिक्षा होइन, डर र निराशा पलाउँछ। अनि यस्तो शिक्षा प्रणालीले राष्ट्रको भविष्य उज्यालो बनाउन सक्दैन।

इन्द्रावती गाउँपालिका–१ स्थित भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अन्जना भण्डारीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खाम्सोङ तामाङले कार्यकक्षमै कुटपिट गरेका छन्।

अध्यक्षले विद्यालय प्रमुखमाथि गरेको यस्तो कृत्यले स्पष्ट सन्देश दिन्छ । हाम्रो विद्यालय व्यवस्थापन संरचनामा अहंकार, राजनीतिक प्रभाव, र उत्तरदायित्वको कमी गहिरो रूपमा जरा गाडिरहेको छ। प्रधानाध्यापकहरू विद्यालयको शैक्षिक नेतृत्वका मुख्य व्यक्ति हुन्; उनीहरूलाई सम्मान गर्न सकिँदैन भने, विद्यार्थीहरूलाई कस्तो शिक्षाको उदाहरण दिन सकिन्छ?

यस प्रकारको हिंसात्मक व्यवहारले विद्यालयभित्र भयको संस्कार जन्माउँछ, जहाँ शिक्षकहरू आफ्ना विचार वा असहमति व्यक्त गर्न डराउँछन्। यस्ता घटनाले शिक्षा प्रणालीमा पारदर्शिता र सहकार्यको भावना कमजोर पार्छ।

राज्यका शिक्षा नियामक निकायहरूले यस्तो घटनामा तुरुन्त र कडाभन्दा कडा कारबाही गर्नुपर्छ। विद्यालय व्यवस्थापन समिति कुनै व्यक्तिको निजी साम्राज्य होइन । यो सामूहिक जिम्मेवारीको निकाय हो। त्यसैले, प्रशासनिक मर्यादा, कानुनी उत्तरदायित्व, र आचारसंहिताको पालना अनिवार्य हुनुपर्छ।

हामीले शिक्षा क्षेत्रलाई राजनीतिक द्वन्द्व, व्यक्तिगत बदला, र असभ्य व्यवहारको अखडा बन्न नदिनु जरुरी छ। विद्यालय पुनः शान्ति, सम्मान र शैक्षिक नेतृत्वको केन्द्र बन्न सकेन भने, भविष्यका पुस्ताहरू हिंसाको पाठ सिक्नेछन् शिक्षा होइन।

ads
ads
add
banner add

सम्बन्धित खबर